Introduction to Government Job-सरकारी जागिरको परिचय तथा सरकारी जागिर कसरी खाने ?


छोरी माग्न जाँदा,  बिहे गर्छु भन्दा,  ससुरा परे दोधारे,  भन्छन् - तिम्रो छ र के भर ? खोजिआउ पहिले सरकारी जागिर............।" 'डक्टर पाइलट' ब्यान्डका क्रान्ति आलेले बनाएको यो गीत हामी सबैले सुनेको हुनुपर्छ र कुनै समयको हिट गीतको रुपमा यो गीत रहेको थियो । यस गीतको शब्दबाट हामीलाई सरकारी जागीरको महत्व बुझ्न कठिन हुँदैन ।
      जीवन जीउने तथा निर्वाहका अनगिन्ती उपाय, बाटो, काम र पेशाहरु छन । स्वतन्त्र रुपमा काम गर्न चाहनेले व्यापार व्यवसाय गर्न सक्छ, अब्बल र उत्कृष्ट व्यक्तिलाई नीजी र कर्पोरेट क्षेत्रमा सरकारी जागिरको तुलनामा आकर्षक सेवा र सुविधासहितका विकल्पहरु उपलब्ध छन । त्यस्तो जनशक्तिको माग दिनदिनै बढिरहेको छ । र पनि हामी सबैको प्रमुख रोजाई किन सरकारी जागिर नै बन्न पुग्यो त? यस प्रश्नको उत्तर खोज्नुभन्दा पहिले सरकारी जागिरको बारेमा बुझ्नु आवश्यक छ । सरकारी जागीरलाई राज्यकोषबाट तलब प्राप्त हुने राज्यको सेवामा समर्पित हुने पेशाको रुपमा अर्थ्याउनु सान्दर्भिक हुन्छ । अर्थात राज्यले जनताबाट संकलन गर्ने कर रकमबाट तलब, भत्ता तथा सुविधा लिने, निश्चित सेवाअवधि काम गर्ने तोकिएको योग्यता पुरा गरी राज्यबाट नियुक्ती लिएका सबै पदहरु नै सरकारी जागिर अथवा सार्वजनिक पद हुन ।

भ्रष्टाचार निवारण ऐन, २०५९ ले सार्वजनिक संस्थाको परिभाषा यसरी दिएको छ :-
१) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैङ्क वा समिति वा प्रचलित कानुनबमोजिम नेपाल सरकारद्वारा स्थापित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्था,
२) नेपाल सरकारद्वारा संचालित वा नेपाल सरकारको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य त्यस्तै प्राज्ञिक वा शैक्षिक संस्था,
३) स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित स्थानीय निकाय,
४) नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा संचालित संस्था,
५) उपखण्ड (१), २), ३) वा (४) मा उल्लिखित संस्थाको पूर्ण वा आंशिक स्वामित्व भएको वा नियन्त्रण रहेको वा त्यस्तो संस्थाबाट अनुदान प्राप्त संस्था,
६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था भनी तोकेको अन्य संस्था ।

यसप्रकार सार्वजनिक संस्थाका पदहरुमा नियुक्त हुनुलाई सरकारी जागीर खानु/पाउनुको रुपमा परिभाषित गर्न सकिन्छ ।

त्यस्तै सोही ऐनमा राष्ट्रसेवक भनेर निम्नानुसार परिभाषित गरिएको छ:-
राष्ट्रसेवक भन्नाले प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको मानिने व्यक्ति सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछः
(१) राष्ट्रपति, नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट वा नेपाल सरकार वा सार्वजनिक संस्थासंग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक कर्तव्य पालन गर्नको लागि नेपाल सरकार वा सार्वजनिक संस्थाबाट तलब, भत्ता, पारिश्रमिक,
सुविधा, हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी नियुक्त, मनोनीत वा निर्वाचित व्यक्ति,
(२) कुनै विवादको निरोपण गर्न वा समाधान गर्न प्रचलित कानुनबमोजिम नियुक्त भएको मध्यस्थ वा त्यस्तै हैसियतमा नियुक्त अन्य कुनै व्यक्ति,
(३) प्रचलित कानुनबमोजिम नियुक्त, निर्वाचित वा मनोनीत लिक्विडेटर, सर्भेयर वा सोही प्रकृतिको हैसियतमा काम गर्ने व्यक्ति,
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य व्यक्ति ।

यसप्रकार सबै सरकारी जागिर/वा सार्वजनिक पद धारण गरेका व्यक्ति राष्ट्रसेवक रहेको यसबाट बुझ्न सकिन्छ ।तर सबै राष्ट्रसेवकहरु भने सरकारी जागिर गरेका वा खाएका भने होईनन ।

अब लागौं सरकारी जागिरमा आकर्षण किन त? यसको सरल उत्तर छ, सेवाको स्थायित्व, तुलनात्मक रुपमा आकर्षक तलब भत्ता, सेवा सुविधा, उपदान, निवृत्तिभरणको ब्यवस्था पदअनुसारको विशिष्ट अधिकार, राष्ट्रसेवा, विशिष्ट र चुनौतिपूर्ण जिम्मेवारी।त्यसका साथै विभिन्न देश विदेशमा अध्ययन, अध्ययन भ्रमणको अवसर, परराष्ट्र सेवामा रहनेहरु भारत, बेलायत, अमेरिका, जापान, रुस, चीन लगायतका 27/28 देशमा नेपाली दुतावासमा रहेर काम गर्न पाउने अवसर जुन अत्यन्तै आकर्षक क्षेत्रको रुपमा रहेको छ । यस्तै सरकारी जागिरबाट देशको शासन संचालन गर्ने, नीती निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गराउने तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो देशको बैदेशिक नीती र कुटनीती संचालन गर्ने लगायतका काम गर्ने अवसर प्राप्त हुन्छ ।त्यसकारण पनि सरकारी जागिरमा आकर्षण रहेको पाउन सकिन्छ।हाम्रो छिमेकी देश भारतको उदाहरण हेर्ने हो भने त्यहाँ सरकारी जागिर पाउनु ठूलो युद्ध जित्‍नुसरह मानिन्छ र जो परिक्षामा उत्तीर्ण हुन्छ उसलाई निकै नै सम्मानजनक रुपमा हेरिन्छ उ एउटा सेलिब्रेटी, रोलमोडल बन्न पुग्छ साथै उसको अन्तर्वार्ता करौडौंले व्यक्तिहरुले हेर्दछन । नेपालमा सरकारी जागिरको रुपमा सेवा गर्नको लागी निम्न निकायहरुमा संचालन हुने प्रतियोगितात्मक परिक्षाहरु उत्तीर्ण गरी सरकारी जागिर पाउन र खान सकिन्छ ।
Ø  निजामति सेवा-देशको स्थायी सरकार निजामति सेवामा लोकसेवा आयोगद्धारा लिईने प्रतियोगितात्मक परिक्षा उत्तीर्ण गरी सेवा प्रवेश गर्न सकिन्छ ।
Ø   नेपाली सेना- परिक्षा लोक सेवा आयोगद्धारा गरिने ब्यवस्था नेपालको संविधान मा गरिएको छ र उक्त परिक्षा उत्तीर्ण गरि सेवा प्रवेश गर्न सकिन्छ ।
Ø  विद्यालयमा शिक्षकको रुपमा सरकारी जागिरमा प्रवेश गर्न - शिक्षा सेवा आयोगबाट संचालन हुने परिक्षाहरुमा उत्तीर्ण हुनुपर्छ ।
Ø  विश्‍वविद्यालयहरुमा जागिरको रुपमा सेवा प्रवेश गर्न विश्‍वविद्यालय सेवा आयोगबाट लिइने परिक्षा उत्तिर्ण गरी सेवा प्रवेश गर्न सकिन्छ ।जस्तै त्रिभुवन विश्‍वविद्यालय सेवा आयोग ।
Ø  नेपाल राष्ट्र बैक,राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैक लगायतका बैकहरुमा सेवा प्रवेश गर्न लोक सेवा आयोगबाट लिइने परिक्षा उत्तीर्ण गर्नुपर्छ ।
Ø  नेपाल टेलिकम कर्मचारी संचय कोष,नागरिक लगानी कोष जस्ता संस्थामा सेवा प्रवेश गर्न लोक सेवा आयोगबाट लिइने परिक्षा उत्तीर्ण गर्नुपर्छ ।
Ø  30 भन्दा बढी नेपाल सरकारका सार्वजनिक संस्थानमा सेवा प्रवेश गरी सरकारी जागिर खान लोक सेवा आयोगबाट लिइने परिक्षा उत्तीर्ण गर्नुपर्छ ।
Ø  नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान मा सेवा प्रवेश गरी सरकारी जागिर गर्न लोक सेवा आयोगबाट लिइने परिक्षा उत्तीर्ण गर्नुपर्छ ।
अन्त्यमा सरकारी जागिर भन्नाले धेरै मानिसहरुले प्राय:निजामति सेवाका खरिदार,नायब सुब्बा,शाखा अधिकृत,उपसचिव,सहसचिव लगायतका पदहरुलाई बुझ्ने गर्दछन तर राज्यकोषबाट तलब लिने तथा स्थायी सार्वजनिक पदहरु सबै सरकारी जागिर नै हुन । सबै सरकारी जागिरको मियो भने निजामति सेवा नै रहेकोले सबैको आकर्षण यसमा रहन गएको हो ।तपाई पनि सरकारी जागिर खाने/पाउने योजना बनाईरहनुभएको छ भने सरकारी पदहरुमा सिफारिस गर्नको लागि परिक्षा संचालन गर्ने निकायहरुबाट संचालन हुने प्रतिस्पर्धात्मक परिक्षाहरुमा सहभागी भई छनौट हुन सक्नुहुनेछ ।
त्यसको लागि तपाईको रुचि, शैक्षिक योग्यता हासिल भएको र तपाई आफ्नो योग्यताअनुसार कुन क्षेत्रमा लाग्न चाहनुहुन्छ त्यो तपाईले निर्धारण गर्नुपर्ने हुन्छ ।

No comments:

Post a Comment